जेठ २०,हेटौंडा। भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ।
बुधावार दिउँसो भारतीय प्रधानमन्त्रीको सरकारी निवासमा भएको उक्त भेटवार्तामा दुई देशबीचको आपसी हित, कुटनीतिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध आयामबारे छलफल भएको जनाइएको छ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीका साथमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (NSA) अजित डोभाल र विदेश मन्त्री एस. जयशंकर समेतको महत्त्वपूर्ण उपस्थिति रहेको थियो।
भारतीय पक्षको यो उच्चस्तरीय उपस्थिति गुटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटका क्रममा सभापति लामिछानेले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक विकास र सहकार्यमा जोड दिनुपर्ने धारणा राखेका थिए।
सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास र स्थिरतामा भारतको सदैव सद्भाव र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका बुझिएको छ।
रास्वपा सभापति लामिछानेको नेतृत्वमा भारत भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले यसअघि पनि दिल्लीमा अन्य उच्चस्तरीय राजनीतिक भेटघाटहरू गरेको थियो।




