जेठ २०,हेटौंडा। विश्वकै सबैभन्दा लामो विषालु सर्प ‘किङ कोब्रा’ (राजगोमन) को उद्धार गर्ने क्रममा सर्पको टोकाइबाट घाइते भएका हेटौंडाका सञ्चारकर्मी तथा सर्प उद्धारकर्ता राजेश थापा ‘गरीब’को स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

हेटौंडा अस्पतालको आइसीयूमा उपचारत उनलाई आज मेडिसिन वार्डमा सार्ने तयारी भइरहेको छ ।

​मंगलबार बकैया र बागमती गाउँपालिकाको सिमानामा फेला परेको किङ कोब्राको उद्धार गर्ने क्रममा थापालाई सर्पले दाहिने गोडामा डसेको थियो । तत्कालै उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो ।

​अस्पतालका चिकित्सकहरूका अनुसार मंगलबार देखि नै उनलाई निरन्तर आइसीयूमा राखेर उपचार भइरहेको थियो ।

उपचारको क्रममा उनलाई हालसम्म १२ भाइल ‘स्नेक एन्टिभेनम’ दिइसकिएको छ । उनको अवस्था सामान्य र खतरामुक्त रहेको चिकित्सकले बताएकाछन्।

​पूरा परिवार नै सञ्चार क्षेत्रमा, बाबु-छोरा नै गर्छन् सर्पको उद्धार

​सर्पको टोकाइबाट घाइते भएका राजेश थापा ‘गरीब’ लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार हुनुका साथै सर्प उद्धारकर्ता पनि हुन् । उनीसँगै उनका छोरा रोशन थापा पनि सर्प उद्धार कार्यमा सँगसँगै खटिँदै आएका छन् । राजेशलाई यसअघि पनि बिषालु सर्पले डसेको थियो।

​थापाको परिवारको अर्को एउटा रोचक विशेषता पनि छ । उनको पूरा परिवार नै सञ्चार कर्ममा आबद्ध छ ।

राजेश, उनकी श्रीमती र दुई छोरासहित परिवारका चारै जना सदस्यहरू पत्रकारिता र सञ्चार क्षेत्रमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय