असार १, निजगढ। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर बस्ने बासुदेब मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तानको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

हिजो दिउँसो करिब १२:१० बजे वीरगन्ज–पथलैया सडक खण्ड अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–७ भगीरथ लाइनस्थित एक होटल अगाडि जीतपुरबाट सिमरातर्फ आउँदै गरेको म.प्र. ०३–०३९ प २६८६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी स्कुटर चालक सुप्रिया मोक्तानलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा आईतबार दिउँसो ३:३४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा स्कुटरको पछाडि सवार सोही ठाउँकी १६ वर्षीया सुप्रिया रुम्बा घाइते भएकी छन् । उनको अनुहार, बायाँ हात र दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । उनको हाल एल.एस. न्युरो अस्पतालमै उपचार भइरहेको छ ।




