असार ५, काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई तीव्रता दिएको छ।
यसैक्रममा मन्त्रालयले थप तीन स्थानीय तहमा मालपोत सेवा विस्तार गरेको छ।

मन्त्रालयका अनुसार, आज शुक्रबारदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाबाट औपचारिक रूपमा मालपोत सेवा सुरु भएको हो।
मन्त्रालयले यसअघि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट मालपोत सेवा शुरु गरेको थियो। यो संगै मालपोत सेवा शुरु गर्ने स्थानीय तहको संख्या ४ पुगेको छ।
नागरिकलाई आफ्नै क्षेत्रबाट सहज र सुलभ रूपमा जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने सरकारको नीतिअनुरूप यो अभियान सञ्चालन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी दिईन्।
लामो समयदेखि मालपोत कार्यालय टाढा हुँदा सास्ती भोग्दै आएका स्थानीय सेवाग्राहीहरूलाई यस सेवाले ठूलो राहत दिने मन्त्री रावलको अपेक्षा छ।
मन्त्रालयले चरणबद्ध रूपमा देशका अन्य स्थानीय तहहरूमा पनि यस्तै किसिमको सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ।
डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन यो अभियान महत्त्वपूर्ण कडी साबित हुने पनि मन्त्री रावलको विश्वास छ।
यस सेवा सञ्चालनमा आएसँगै अब सम्बन्धित स्थानीय तहका बासिन्दाले जग्गाको लिखत पारित, रोक्का-फुकुवालगायतका मालपोतसम्बन्धी कामहरूका लागि सदरमुकाम वा टाढाका मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
देशभरका २०७ वटा स्थानीय तहले यो सेवा सुचारु गर्न ईच्छा देखाएका थिए।



