असार १२,निजगढ। लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाराको कलैयामा सचेतनामूलक प्रभातफेरी र र्याली आयोजना गरिएको छ।
आज बिहान ८:०० बजे जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट सुरु भएको उक्त र्याली भरतचोक, खानेपानी संस्थान र सिद्धेश्वर मन्दिर हुँदै बजार परिक्रमा गरी पुनः जिल्ला प्रशासन कार्यालयको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईको उपस्थिति रहेको थियो भने सुरक्षा निकायका तर्फबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा ३० जना, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २७ जना र राष्ट्रिय अनुसन्धान अधिकृत सरोज निरौला लगायत गरी करिब ५८ जना सुरक्षाकर्मीहरू सहभागी भएका थिए।
यसबाहेक मनकामना इङ्लिस बोर्डिङ स्कुल कलैयाका विद्यार्थीहरू, स्थानीय युवाहरू र विभिन्न सुधार केन्द्रका प्रतिनिधिहरू समेत गरी करिब १५० देखि २०० जनाको सहभागिता थियो।
समाजबाट लागूऔषधको कुलत हटाउन र यसका असरहरूका बारेमा जनचेतना फैलाउने उद्देश्यले आयोजित यो कार्यक्रमले युवा पुस्तालाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




