राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचन परिणाममा धाँधली भएको भन्दै उम्मेदवार पूजा वास्तोलाले आपत्ति जनाएकि छिन्।
महाधिवेशनमा आफूले ९१३ मत प्राप्त गरी महिलातर्फ शीर्ष २ र खुलातर्फ शीर्ष ५ भित्र पर्ने नतिजा हासिल गर्दा पनि निर्वाचन आयोगले विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत आफूलाई विजयी सूचीबाट बाहिर राखेको उनको आरोप छ।

आफूभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई विजयी घोषणा गरिएको भन्दै वास्तोलाले यसलाई व्यक्तिगत हार-जितभन्दा पनि पद्धति र सुशासनको प्रश्नको रूपमा उठाएकि छिन्।
“यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ र मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ,” उनले भनेकी छिन्।
वास्तोलाले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गराए पनि चित्तबुझ्दो जवाफ नआएको र उल्टै धम्कीपूर्ण शैलीमा विषयलाई दबाउन खोजिएको गुनासोसमेत गरेकी छिन्।
प्रक्रिया निष्पक्ष नभएको र न्यायपूर्ण नभएको भन्दै उनले अब सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने निर्णयमा पुगेको पनि बताएकी छिन्।
यो संघर्ष आफ्नो व्यक्तिगत हितका लागि नभई आफूलाई विश्वास गरेर मत दिने ९१३ जना प्रतिनिधिहरूको सम्मान, पारदर्शिता र संस्थागत न्यायका लागि भएको उनको दाबी छ।
एक बिज्ञप्ति जारी गर्दै पदभन्दा पद्धति ठूलो हुने भन्दै वास्तोलाले अन्तिमसम्म पनि पद्धतिको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेकी छिन्।




