असार २०, हेटौंडा। फुटबलको मानचित्रमा कतिपय देशहरू इतिहासका कारण परिचित हुन्छन् त कतिपय खेलाडीका कारण। तर, केही यस्ता राष्ट्रहरू पनि छन् जसलाई विश्वले ‘फुटबल’कै कारण चिन्ने मौका पाएको छ।

तिनैमध्येको एक हो पश्चिम अफ्रिकी तटबाट ५७० किलोमिटर पर एट्लान्टिक महासागरमा छरिएर रहेको सानो टापु राष्ट्र काबो भर्दे।

​काबो भर्देले जारी विश्वकप फुटबलमा अजेय शक्तिहरु विरुद्ध गरेको प्रदर्शनले विश्वलाई नै चकित बनायो।

स्पेन र उरुग्वे जस्ता विश्व विजेता बनिसकेका दिग्गज टिमहरूसँग बराबरी खेलेर आफ्नो क्षमता प्रमाणित गरेको यो टोलीले आज साबिक विश्व विजेता अर्जेन्टिनालाई समेत नराम्रोसँग पसिना छुटायो।

​आज भएको खेलमा काबो भर्देले निर्धारित समयसम्म अर्जेन्टिनालाई बराबरीमा रोक्दै सबैलाई स्तब्ध बनायो।

यो टोलीले विश्वका उत्कृष्ट खेलाडीहरू सम्मिलित अर्जेन्टिनाको आक्रमणलाई उत्कृष्ट रक्षात्मक शैलीले विफल पारिरह्यो। अन्ततःथपिएको अतिरिक्त समयमा निकै सङ्घर्षपूर्ण र सकसपूर्ण खेलपछि मात्र अर्जेन्टिनाले जीत निकाल्न सफल भयो।

यो प्रदर्शनले काबो भर्दे अब केवल एक सहभागी राष्ट्र मात्र होइन, विश्व फुटबलको कुनै पनि शक्तिलाई हराउन सक्ने ‘जाइन्ट किलर’ हो भन्ने पुष्टि गरेको छ।

यद्यपि,थोरै जनसङ्ख्या र सीमित स्रोतसाधन भएको यो देशले अफ्रिका कप अफ नेसन्सजस्ता ठूला प्रतियोगितामा आफूभन्दा कैयौं गुणा बलिया र ठूला मानिने घाना, ट्युनिसिया जस्ता अफ्रिकी फुटबलका दिग्गज राष्ट्रहरूलाई पछि पार्दै आफूलाई ‘जाइन्ट किलर’का रूपमा स्थापित गरिसकेको छ।

फुटबलमा ‘डार्क हर्स’ अर्थात रक्षात्मक अनुशासन र तीव्र काउन्टर अट्याक उनीहरूको मुख्य हतियार हो। अर्जेन्टिना विरुद्धको आजको प्रदर्शन पछि अब विश्वले काबो भर्देलाई नजरअन्दाज गर्न सक्दैन।

किन भनिन्छ ‘केप भर्डे’?
यसको मुख्य कारण अङ्ग्रेजी भाषाको प्रभाव हो। सन् २०१३ सम्म अन्तर्राष्ट्रिय रूपमा यही नाम बढी प्रचलित थियो।

तर, देशको आधिकारिक नाम पोर्चुगिज भाषामा ‘काबो भर्दे’ हो, जसको अर्थ हुन्छ ‘हरियो अन्तरीप’ अर्थात ग्रीन केप।

देशले आधिकारिक रूपमै सबै भाषामा ‘काबो भर्दे’ नै प्रयोग गर्न आग्रह गरेपछि अहिले सञ्चार माध्यमहरू बिस्तारै यसलाई सच्याउँदै छन्।

समाचार क्लबले पनि विश्वको यहि आधिकारिक अभ्यासलाई आत्मसात गर्दै ‘काबो भर्दे’ नै प्रयोग गरेको छ। तरपनी खेलप्रेमीहरु ​अझै पनि यसलाई अङ्ग्रेजी नाम ‘केप भर्डे’ नै भन्न रुचाउँछन्।

१० वटा ज्वालामुखी टापुहरू मिलेर बनेको यो देश अफ्रिकाको पश्चिमी तट नजिकै एट्लान्टिक महासागरमा अवस्थित छ।

​सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्र भएयता यो देश अफ्रिकाको सबैभन्दा स्थिर र विकसित प्रजातान्त्रिक मुलुकमध्ये एक बन्न सफल भएको छ।पर्यटन, सेवा क्षेत्र र विदेशी सहयोग यहाँको अर्थतन्त्रका मुख्य आधार हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय