असार २४,काठमाडौं। पटक-पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्याले जनजीवन प्रभावित बनेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको तत्काल समाधानका लागि विशेष अभियान सञ्चालनमा ल्याएको छ।

जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने उद्देश्यले मन्त्रालयले सक्रिय अनुगमन र समस्याको तत्काल सुनुवाइ गर्ने कार्यलाई प्राथमिकता दिएको हो।

​अभियानको पहिलो दिनमै मन्त्रालयको हटलाइन ११५० र ११५१ मा २४ वटा गुनासा दर्ता भएका थिए। तीमध्ये वीरगञ्ज क्षेत्रबाट आएका अधिकांश गुनासाहरूको तत्काल सम्बोधन गरिएको छ।

त्यस्तै, काठमाडौंको न्युरोड क्षेत्रमा ट्रान्सफर्मर पड्किएर अवरुद्ध भएको विद्युत् आपूर्ति पनि मर्मत गरी सुचारु भइसकेको छ।

मन्त्रालयका अनुसार पहिलो दिन आएका सबै २४ वटा गुनासाहरू शतप्रतिशत समाधान भइसकेका छन्।

​मन्त्रालयले विद्युत् आपूर्तिमा समस्या भएमा चौबीसै घण्टा सेवा उपलब्ध हुने गरी हटलाइन ११५० र ११५१ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

यसका साथै, थप समन्वयका लागि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक दीर्घायु श्रेष्ठ (९८५१३१३९८२) तथा सातै प्रदेशका सम्पर्क पदाधिकारीहरूलाई पनि सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

कोशी प्रदेशका लागि विनोदकुमार यादव (९८५५०४०७६६), मधेश प्रदेशका लागि हरदेवप्रसाद गुप्ता कलवार (९८५५०४४९१७), बागमती प्रदेशका लागि सुधीरकुमार राय (९८५११५०५२५), गण्डकी प्रदेशका लागि महादेव भट्टराई (९८५७०१०६२२), लुम्बिनी प्रदेशका लागि उमेशकुमार शाह (९८५२०२९१८९), कर्णाली प्रदेशका लागि शशिभूषण साह (९८५८०७२३९९) र सुदूरपश्चिम प्रदेशका लागि जंगबहादुर चन्द (९८५८४८८५५५) लाई सम्पर्क व्यक्ति तोकिएको छ।

​मन्त्रालय अन्तर्गत हटलाइनमा कार्यरत कर्मचारीहरू चौबीसै घण्टा सेवामा खटिएका जनाईएको छ।

थप जानकारीका लागि आफ्नो सम्बन्धित स्थानीय पालिकासँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

‘बत्ती जानु सामान्य होइन’ भन्ने मान्यतासहित मन्त्रालयले जनताको गुनासोमा तत्काल सुनुवाइ गर्दै समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय