असार २४, निजगढ। बारा जिल्लाको सुवर्ण गाउँपालिका–२, सनफुलवामा रुख काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिकाको वडा नं. १, रामटोल बस्ने अन्दाजी ५५ वर्षीय जोखन महरा रहेका छन्।

घटना विवरणअनुसार, सुवर्ण गाउँपालिका–२ बस्ने शिवधारी पण्डितको जग्गामा रहेको पकडको रुख सोही ठाउँका बाबुलाल यादवले खरिद गरेका थिए।
उक्त रुख काट्नका लागि बाबुलालले जोखनलाई काममा लगाएका थिए।
हिजो मंगलबार बिहान करिब ८:३० बजेको समयमा रुखको हाँगा काट्ने क्रममा अर्को हाँगाले च्यापिँदा महराको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, कवही गोठबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया तथा मुचुल्का उठाएको छ।




