असार २४, निजगढ। बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३, भलुहीचोकस्थित वीरगंज-पथलैया सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
बिहान करिब ५:३० बजे वीरगंजबाट पथलैयातर्फ आउँदै गरेको म.प्र.०३-०१९ प ६८३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक, पर्साको ठोरी गाउँपालिका-४ बस्ने ४० वर्षीय ईश्वर श्रेष्ठ गम्भीर घाइते भएका थिए।
घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि सुरुमा प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। थप उपचारका लागि उनलाई वीरगंजस्थित नारायणी अस्पताल लगिएकोमा चिकित्सकले बिहान ७:३० बजे मृत घोषित गरेका हुन्।
इलाका प्रहरी कार्यालय जितपुर, बाराका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




