असार २५, हेटौंडा। हेटौंडामा स्कुटर दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ।
बुधबार साँझ हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित भित्री बाटोमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार, बुद्ध चोकबाट नमुना चोक तर्फ जाँदै गरेको बा.प्र ०३–००४ प ७२७२ नम्बरको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई स्थानीय राजु नेपालीको घरको पिँडीमा ठोक्किएको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा रहेका स्कुटर चालक हेटौंडा–१०, आनन्दटोल निवासी २१ वर्षीय सागर स्याङ्तानलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो।
अस्पताल पुर्याइएका स्याङ्तानलाई उपचारको क्रममा साँझ १७:०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त स्कुटर हाल प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बढ्दो सडक दुर्घटनाको सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सडक प्रयोगकर्ताहरूलाई सचेत रहन हार्दिक अनुरोध गरेको छ।




