असार २५, हेटौंडा। मकवानपुरको हेटौंडामा २७ बोतल प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौंडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा लागुऔषधको कारोबार गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मयुरधाप घर भई हाल वडा नं. ५ मा डेरा गरी बस्ने २८ वर्षीय कालीबहादुर बस्नेत रहेका छन्।

प्रहरीका अनुसार, बुधबार राति करिब ९:०० बजेको समयमा हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडिको भित्री सडकखण्डमा बा.प्र.०३-००६ प ५४०५ नम्बरको स्कुटर रोकी शंकास्पद रूपमा बसिरहेको अवस्थामा बस्नेतलाई फेला पारिएको थियो।
तत्पश्चात् प्रहरीले उनको स्कुटर खानतलासी गर्दा डिक्कीभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ओनेरेक्स २७ बोतल फेला पारेको हो।
प्रहरीले उक्त लागुऔषध र स्कुटर बरामद गरी बस्नेतलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा मकवानपुर जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।




