असार २८, काठमाडौं।काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नगर प्रहरीको कारबाहीपछि आत्मदाह गरेका पठाओ चालक गणेश नेपालीको परिवारलाई राहत र क्षतिपूर्ति प्रदान गर्ने विषयमा सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच सहमति भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौँ महानगरका नगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक लगाइदिएका थिए। त्यसपछि केहीबेर नगर प्रहरी र नेपालीबीच भनाभन भएको थियो।

उक्त विवादपछि मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल झिकी शरीरमा छर्किएर आगो लगाएका थिए।
सो घटनापछि वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा असार २६ गते उनको निधन भएको थियो।
घटनापछि आक्रोशित परिवार र सरोकारवालासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा भएको वार्तामा निम्न लिखित ९ बुँदे सहमति भएको छ:
- निष्पक्ष छानबिन: घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व-न्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गरिनेछ र सात दिनभित्र प्रतिवेदन पेश गरिनेछ।
- दोषीमाथि कारबाही: घटनाको दिन फिल्डमा खटिएका नगर प्रहरीका कर्मचारीहरूलाई छानबिन समितिको सिफारिसका आधारमा कारबाही हुने गरी तत्कालका लागि निलम्बन गर्न महानगरपालिकालाई पत्राचार गरिनेछ।
- शहीद घोषणा: छानबिन समितिको प्रतिवेदनका आधारमा मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ।
- आश्रित परिवारको व्यवस्थापन: मृतककी श्रीमतीलाई योग्यताअनुसार रोजगारी दिइनेछ भने छोरीको उच्च शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्नेछ।
- राहत र काजक्रिया: मृतकको परिवारलाई राहत रकम उपलब्ध गराइने र अन्त्येष्टि तथा काजक्रियाको सम्पूर्ण व्यवस्था महानगरपालिकाले गर्ने निर्णय भएको छ।
- स्वास्थ्य बीमा: परिवारका सदस्यहरूको स्वास्थ्य बीमाका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउनेछ।
यो सहमतिपछि पीडित परिवारले शव बुझी कानुनी प्रक्रियामा सहयोग गर्ने निर्णय गरेका छन्। नेपालीको आज अन्त्येष्टि हुँदैछ।




