असार ३०, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद सवारीसाधन राखेर सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाब सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा आज जारी विज्ञप्तिमा यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।

​राज्यको चौथो अंगका रूपमा रहेको प्रेस जगतलाई निर्भीक भएर कार्य गर्ने वातावरण तयार पार्नु राज्यको दायित्व भएको स्मरण गराउँदै रास्वपाले सञ्चार गृहमाथि त्रासको वातावरण सिर्जना गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।

​”स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो। प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारमाथि धावा बोल्ने वा दबाब सिर्जना गर्ने कुनै पनि प्रवृत्तिविरुद्ध हाम्रो पार्टी दृढतापूर्वक उभिएको छ,” विज्ञप्तिमा भनिएको छ।

​रास्वपाले हाल भइरहेका यस्ता शंकास्पद र रहस्यमय गतिविधिहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न नेपाल सरकार तथा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको छ।

साथै, दोषीलाई तत्काल पहिचान गरी कानुनको दायरामा ल्याउन र सञ्चारकर्मी तथा सञ्चार गृहहरूको भौतिक एवं मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग माग गरेको छ।

​अन्तमा, सञ्चार जगत्‌लाई कुनै पनि प्रकारको दबाब र त्रासबाट मुक्त रही आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न अपिल गर्दै रास्वपाले प्रेस स्वतन्त्रताको रक्षार्थ आफू सदैव कटिबद्ध रहेको प्रतिबद्धता जनाएको छ।

सोमबार बिहानै कान्तिपुर पब्लिकेसन्स ,अनलाइन खबर,हिमालयन टिभी र कांग्रेस सभापति गगन थापाको घर अगाडी शंकास्पदरुपमा निजि गाडी पार्किङ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय