असार ३०, हेटौंडा। अविरल वर्षाका कारण बाढी, पहिरो र सडक दुर्घटनाको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज (मंगलबार) साँझ ६:३० बजेदेखि भोलि (बुधबार) बिहान ५:०० बजेसम्मका लागि जिल्लाबाट काठमाडौ जाने मुख्य सडकखण्डहरूमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
यो निर्णयअनुसार हेटौँडा–भैँसे–काठमाडौँ सडक र हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिराज मार्गमा उक्त अवधिभर सवारी आवागमन बन्द रहनेछ।

२०८३ असार २८ गते रातिदेखिको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढाएको छ।
मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहनु, बाग्झोर क्षेत्रमा लेदोसहितको बाढी आउन सक्ने जोखिम हुनु, भीमफेदीस्थित बेलीब्रिज मर्मतको क्रममा रहनु र सोही स्थानको वैकल्पिक डाइभर्सन बाढीले बगाउनुले स्थिति थप गम्भीर बनेको छ।
साथै, हेटौँडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौँ जाने सडकमा ढुंगा खस्ने र पहिरो जाने उच्च जोखिम रहेकाले यात्रुको सुरक्षाका लागि यो कदम चालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयले हालको विपद्को जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन समयमा सडकमा यात्रा नगर्न सम्पूर्ण चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।
कुनै पनि विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न वा स्थानीय तह, जनप्रतिनिधि तथा नजिकको सुरक्षा निकायलाई यथाशीघ्र जानकारी गराउन सूचनामार्फत आग्रह गरिएको छ।




