असार ३१, हेटौंडा।मकवानपुरको मनहरीमा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले हिजो मंगलबार बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

चितवनबाट हेटौँडा आउँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप गाडीलाई रोकी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीको पछाडिको ढालामा त्रिपालले छोपी लुकाएर ल्याइएको अवस्थामा प्लाष्टिकले बेरिएका १५ पोका गाँजा बरामद भएको हो।
तौल गर्दा उक्त गाँजा एक सय नौ किलो ९६ ग्राम रहेको पुष्टि भएको छ।
गाँजासहित पक्राउ पर्नेमा गाडी चालक धादिङको गजुरी नगरपालिका–७ किरानचोकका ४१ वर्षीय सुमन तामाङ र सोही गाडीमा सवार १९ वर्षीय ईरोज तामाङ रहेका छन्।
पक्राउ परेका दुवै जनालाई गाडीसहित इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको छ।




