असार ३१, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सञ्चार गृहलगायतका सार्वजनिक स्थानमा गाडी राखेर आवागमन तथा काममा अवरोध पुर्याइएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
गत सोमबार बिहान विभिन्न संचार गृह र नेताका घर अगाडी गाडी तेर्स्याईएको घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद झाले यस्तो कार्य राज्यको ‘बचपना’ भएको टिप्पणी गरेका छन्।

सांसद झाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ता कार्यमा संलग्न जोसुकै भए पनि तत्काल अनुसन्धान गरी कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
“सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ।”उनले लेखेका छन्।
राज्यको मुख्य जिम्मेवारी नागरिकका चिन्ता र समस्याको निराकरण गर्नु रहेको स्मरण गराउँदै सांसद झाले राज्य आफैंले नागरिकलाई थप आतङ्कित बनाउन नहुने भनेका छन्।
उनले वर्तमान सरकारको राज्य सञ्चालनको शैलीप्रति प्रश्न उठाउँदै, “राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ?” भनेका छन्।
रास्वपाका पूर्व प्रवक्ता समेत रहेका सांसद झाले नेपालको राजनीतिक परिवर्तन र अधिकारका लागि युवा पुस्ताले गरेको त्याग र बलिदानको स्मरण गर्दै वर्तमानमा देखिएको स्तरहीन हर्कतप्रति दुःख व्यक्त गरेका छन्।
“के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो?” भन्दै उनले यस्ता कार्यले लोकतान्त्रिक मूल्य-मान्यतालाई गिज्याएको संकेत गरेका छन्।
अन्त्यमा, सांसद झाले सञ्चार गृहजस्तो संवेदनशील क्षेत्रमा गरिएको यस किसिमको अवरोध र अराजक व्यवहारप्रति आफ्नो घोर आपत्ति रहेको स्पष्ट पारेका छन्।
यस्ता घटनाले कानुनी शासनको उपहास गर्ने भएकाले सरकारले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ।
गत सोमबार बिहानै कान्तिपुर, अनलाइनखबर, हिमालयन टिभी र कांग्रेस सभापति गगन थापाको घर अगाडि ‘शंकास्पद रुपमा तेर्स्याईएको थियो।
प्रत्यक्षदर्शीका अनुसार गगन थापको घरमा पार्किङ गरि सो गाडिका चालक प्रहरीकै भ्यानमा फर्केका थिए।
त्यस्तै कान्तिपुर पब्लिकेसन्स अगाडी राखिएको गाडी रास्वपाकै एक नेता रवि जयसवालको भएको पुष्टि भएको थियो।
अन्य गाडिका मालिक पनि पत्ता लागेको भएपनी सरकारले अझसम्म कसैलाई पक्राउ गरेको छैन।




