असार ३१, काठमाडौं। मोटरसाइकल पार्किङ सम्बन्धी विवादका कारण आत्मदाहको बाटो रोज्न विवश मुगुका गणेश नेपालीकी श्रीमती पूजा विश्वकर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आर्थिक सहयोग गरेकी छन्।
सांसद तामाङले आफ्नो एक महिनाको तलब बराबरको रकम किरिया खर्चका रूपमा पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।

संघीय संसद्का सांसदको मासिक तलब ६६ हजार ७० रुपैयाँ छ। आफ्नो पारिश्रमिकमार्फत सहयोग गर्दै सांसद तामाङले नेपालीको परिवारप्रति समवेदना प्रकट गरिन्।
सहयोग हस्तान्तरण गर्दै सांसद तामाङले केवल आर्थिक सहयोगले मात्रै पीडित परिवारको घाउ नपुरिने बताउँदै राज्यको जिम्मेवारीबारे ध्यानाकर्षण गराइन्।
उनले भनिन्, “एक महिनाको तलब किरिया खर्चका लागि दिएकी हुँ, तर यो नै अन्तिम समाधान होइन। राज्यले अब ती मृतककी सानी छोरीको पठनपाठनको पूर्ण ग्यारेन्टी गर्नुपर्छ र उनकी श्रीमतीलाई रोजगारीको उचित व्यवस्था मिलाउनुपर्छ।”
अहिले गणेश नेपालीको परिवार पशुपतिनाथ मन्दिरस्थित किरियापुत्री भवनमा किरिया बसिरहेको छ।
सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा पनि यो घटनाले चर्को बहस सिर्जना गरेको छ। आम नागरिकले राज्यले यस्ता घटना हुन नदिन र पीडित परिवारको पुनःस्थापनामा अग्रसरता देखाउनुपर्ने माग गरिरहेका छन्।




