असार ३२, निजगढ। बारा जिल्लाको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो निकाल्न खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
गौतम इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर सोही गाउँपालिका–३ गालोपाट्टी बस्ने शिवनारायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरीको ज्यान गएको हो।

घटनाका अनुसार बाख्रा चराउन गएकी रोशनी बुधबार बेलुकी अन्दाजी ५:०० बजेको समयमा खाल्डोमा खसेकी थिइन्।
बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक प्रबिन मिश्रको कमाण्डमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा SOCO (Scene of Crime Operation) सहितको विशेष टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक मुचुल्का तयार गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।




