चलचित्र ‘मास्टर्नी’ को प्रचार प्रसारका लागि सार्वजनिक गरिएको “म्याथ सिक्ने भए” बोलको गीतका शब्द र भिडियो प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायक दुर्गेश थापाले विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।

​गीतमा प्रयोग गरिएका शब्दहरू द्विअर्थी रहेको र भिडियो प्रस्तुति उत्तेजक भएको भन्दै दर्शक तथा विशेषगरी शिक्षक महासंघबाट तीव्र गुनासो आएको थियो।

गीतले शिक्षकको मर्यादा र सम्मानमा आँच पुर्‍याएको भन्दै व्यापक विरोध भएपछि उक्त चलचित्रकी अभिनेत्री प्रीयंका कार्कीले पनि दर्शक स्रोतासामु माफी मागेकी थिईन्। यस लगत्तै गीतका गायक दुर्गेश थापाले पनि एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।

उनले माफी मात्र हैन दर्शकहरूको भावनाको उच्च सम्मान गर्दै ‘मास्टर्नी’ गीतलाई आफ्नो आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालहरूबाट हटाइएको पनि जानकारी गराएका छन्।

बिज्ञप्तिमा आफ्ना सम्पूर्ण दर्शक, श्रोता र गुरुजनहरूप्रति सम्मान प्रकट गर्दै गीतप्रति प्राप्त माया, साथ, समीक्षा र आलोचनालाई आफूले खुला हृदयले स्वीकार गरेको उल्लेख गरेका छन्।

उनले गीतको उद्देश्य कुनै पनि पेसा, व्यक्तित्व वा कसैको भावनामा चोट पुर्‍याउने नभई विशुद्ध चलचित्रको मनोरञ्जनात्मक प्रचार-प्रसार गर्ने मात्र रहेको प्रस्ट पारेका छन्।

​गीतका केही शब्द र प्रस्तुतिकरणका कारण दर्शक तथा शिक्षक-शिक्षिकाको भावनामा ठेस पुगेको महसुस गर्दै आफू र आफ्नो सम्पूर्ण टिमको तर्फबाट उनले हृदयदेखि नै क्षमायाचना गरेको जनाएका छन्।

शिक्षकलाई समाजको मार्गदर्शक, ज्ञानको दीप तथा सम्मानका पात्र भन्दै उनीहरूप्रति आफ्नो सम्मान सधैं अटल रहने बिज्ञप्ति मार्फत उनले प्रतिबद्धता जनाएका छन्।

साथै, दर्शकहरूको अमूल्य सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा थप जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उक्त गीत ‘मास्टर्नी’ नामक चलचित्रको प्रचार प्रसारका लागि गायक थापा र बबिता किराँतीले गाएका हुन् भने गीतमा अभिनेत्री प्रीयंका कार्की,उनका श्रीमान तथा मोडल आयुष्मान देशराज तथा अभिनेता आर्यन सिग्देल लगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय