साउन २ ,हेटौंडा। मकवानपुरको हेटौंडामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-६, रोएनी कोलोनीस्थित कर्रा खोला नजिकै पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर १३/१४ वर्षीय युकेश राईको मृत्यु भएको हो ।
हेटौंडा-१७ बस्ने केशब राईका छोरा युकेश सोही स्थानमा अन्य ४/५ जना साथीहरूसँग पौडी खेल्न गएका थिए । आज (शनिबार) दिउँसो करिब १:१० बजेको समयमा उनी डुबेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट टोली घटनास्थलमा खटिएको थियो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि परिचालन भएको थियो।
स्थानीयबासी र सुरक्षाकर्मीको सक्रियतामा दिउँसो २:०० बजे बालकको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही समयमै, दिउँसो २:२५ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
प्रहरीको विशेष अपिल
बर्षातको समयमा खोलानालामा पानीको बहाव बढ्ने भएकाले प्रहरीले विशेष सावधानी अपनाउन नागरिकहरूमा अपिल गरेको छ।
- बर्षातको समयमा खोला, नाला तथा तालतलैयामा पौडी नखेल्ने ।
- आफ्ना बालबालिकाहरूलाई डुबान हुन सक्ने जोखिमयुक्त स्थानमा जान नदिने ।
- बाढी आएको समयमा लच्का, खोला र खोल्सामा जबरजस्ती नपस्ने ।
- सवारी साधनमार्फत खोला तर्दा पानीको सतह घटेको निश्चित भएपछि मात्र सावधानीपूर्वक पार गर्ने ।
तपाईंको क्षेत्रमा यस्ता घटनाहरूबाट बच्नका लागि स्थानीय प्रशासन वा प्रहरीले जारी गरेका सूचनाहरूलाई निरन्तर पछ्याउनुहुन अनुरोध छ।




