साउन ४, निजगढ। बाराको सुवर्ण गाउँपालिका–७, चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ।
महागढिमाई नगरपालिका–९, बलुवा घर भई मामा घर आएकी राजिन्द्र महतोकी छोरी लालुकुमारी महतोको डुबेर मृत्यु भएको हो।

बालिका मामा घरको पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा डुबेकी थिइन्।
बालिका डुबेको खबर साउन आईतबार साँझ ६:१५ बजे प्रहरी चौकी बड्कीफुलबरियामा प्राप्त भएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रामबिध्या साहको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगी उक्त क्षेत्रलाई सुरक्षित राखेको थियो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमाण्डमा SOCO (Scene of Crime Operation) सहितको टोली खटिई आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का उठाईएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी बड्कीफुलबरियाबाट करिब १.५ किलोमिटर उत्तर–पूर्वमा पर्दछ।




