साउन ४, निजगढ। बारामा खोलामा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–३ की ३ वर्षीया फुलतारा खातुनको सिर्सिया नदीमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार, फुलतारा आफन्तको घरमा गएका बेला खेल्ने क्रममा नजिकैको सिर्सिया नदीमा खसेकी थिइन्।

खाजाको समयमा नदीमा डुबेको अवस्थामा उनकी आमा सल्यान खातुनले फेला पारेकी थिइन्।
आमाले तत्कालै उनलाई उपचारका लागि सिमरास्थित नगर अस्पताल लगेकी थिइन्। तर, अस्पताल पुर्याउँदा आज साँझ ४:३० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
इलाका प्रहरी कार्यालय जितपुरलाई साँझ ४:४५ बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक तेजनारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




