साउन ५, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका क्षेत्रमा करेन्ट लगाएर नदी तथा खोलाहरूमा माछा मार्ने क्रम अत्यधिक रूपमा बढेको छ।
यसरी अवैध रूपमा समातिएका दैनिक २ देखि ३ क्विन्टलसम्म माछा बजारमा खुल्लमखुल्ला बिक्री–वितरण भइरहेकोप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

अवैध रूपमा करेन्टको प्रयोग गरी माछा मार्दा जलचर प्राणीको विनाश हुनुका साथै समग्र जैविक विविधता र प्राकृतिक स्रोतमाथि गम्भीर असर परेको जानकारहरु बताउँछ्न्।
साथै, यस किसिमका गतिविधिले कानुनी शासनको उपहास गरिरहेको भन्दै सम्बन्धित निकायले तुरुन्त प्रभावकारी अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ।
यसको अलावा मनहरीमा बिना लाइसेन्स सञ्चालित क्रसर उद्योगहरू र नदीजन्य स्रोतको व्यवस्थापनलाई लिएर पनि वर्षौंदेखि प्रश्न उठ्दै आएको छ।
नियमनकारी निकायको कमजोर अनुगमन र आपसी ‘सेटिङ’का कारण प्राकृतिक स्रोतको मनोमानी दोहन भइरहेको जनगुनासो छ।
स्थानीय बासिन्दाहरूले यी सम्पूर्ण अनियमितताबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
दीर्घकालीन समाधानका लागि प्रविधिमैत्री र वैधानिक व्यवस्थापनको खाँचो
समस्याको समाधान केवल कारबाहीमा मात्र सीमित नभई नदीजन्य स्रोत र बगर क्षेत्रको वैधानिक तथा वैज्ञानिक व्यवस्थापन हुनुपर्नेमा स्थानियको जोड छ।
बगर तथा नदीजन्य स्रोतका सम्भावित क्षेत्रहरूमा GPS, CCTV र डिजिटल अनुगमन प्रणाली लागू गर्नुपर्ने।
यसप्रकारको प्रणालीले पारदर्शिता बढाउने, अवैध गतिविधि नियन्त्रण हुने र राज्यले पाउनुपर्ने करोडौँको राजस्व समयमै राज्यकोषमा जम्मा हुने।
हरेक क्षेत्रलाई वैधानिक र व्यवस्थित बनाउन सके स्थानीय युवाहरूले स्वदेशमै रोजगारीका अवसर पाउने, गलत तथा अवैध गतिविधितर्फ आकर्षित हुनुपर्ने बाध्यता हट्ने र समग्र गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासको ठोस आधार तयार हुने पनि स्थानीयको निर्क्यौल छ।
तसर्थ,स्थानीय स्रोत, साधन र वातावरणको संरक्षण गर्दै दिगो विकासतर्फ अगाडि बढ्न जनप्रतिनिधि, प्रशासन र सरोकारवाला निकायले तत्काल गम्भीर पहल लिनुपर्ने आवश्यकता देखिएको छ।




