साउन ६,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ झमसिङटार नजिकै भएको ट्याक्टर दुर्घटनामा परी एक जना चालकको मृत्यु भएको छ।
मंगलबार साँझ ५:०० बजेको समयमा हेटौंडा बजारबाट झमसिङटारतर्फ बालुवा लोड गरी जाँदै गरेको म.प्र.०३-००२ त.०३९७ नम्बरको ट्याक्टर भित्री सडकखण्डको उकालो कच्ची बाटोमा अचानक चिप्लिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ट्याक्टर चालक सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ बस्ने अन्दाजी २२ वर्षीय विक्रम खड्का गम्भीर घाइते भएका थिए।
राति १०:०० बजेको समयमा अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक खड्कालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा राति १०:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटना, सम्बन्धित मृतकका आफन्तलाई समेत जानकारी गराइसकेको प्रहरीले जनाएको छ।




