साउन ७,निजगढ।बारामा बुधबार भएका दुई फरक घटनामा एक महिलाको मृत्यु भएको छ भने एक बृद्वा घाईते भएकी छिन्।
हिजो साउन ६ गते बिहान अन्दाजी ११:३० बजेको समयमा सिम्रौनगढ नगरपालिका-६ पावर हाउसस्थित पर्साटोलबाट इटवालतर्फ जाँदै गरेको BRAD 5642 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ६० की सायबुन खातुनको टाउको र दाँतमा गम्भीर चोट लागेको थियो।
मोटरसाइकल चालक उनकै छोरा वर्ष २५ का तबरेज अन्सारी सकुशल रहेका थिए।
घाइते खातुनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज लगिएकोमा त्यहाँ उपचार गराउँदा समेत अवस्था सुधार नहुने देखिएपछि आफन्तले एम्बुलेन्समा राखेर घरतर्फ ल्याउँदै गर्दा बेलुकी ६:०० बजे बाटाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिम्रोनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा मुचुल्का तथा SOCO सहितको प्रहरी टोली घटनास्थलमा खटिई आवश्यक अनुसन्धान गरिरहेको छ।
त्यसैगरी, हिजै दिउँसो अन्दाजी १२:३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका-१९ इनर्वाशिरा बस्ने सोनुलाल चौधरीकी श्रीमती अन्दाजी वर्ष ७० की सुमित्रा चौधरी आफ्नै घरको भर्याङबाट लडेर घाइते भएकी छिन्।
उनलाई छोरा बधनाथ चौधरीले तत्काल प्रादेशिक अस्पताल कलैया, बारामा लगेकोमा थप उपचारको लागि दिउँसो १:४५ बजे नेशनल मेडिकल कलेज वीरगन्ज, पर्सा रिफर गरिएको छ।
छातीमा भित्री चोट लागेकी घाइते वृद्धाको अवस्था मध्यम रहेको र अस्थायी प्रहरी पोस्ट इनर्वाशिराबाट प्रहरी वरिष्ठ हवल्दार नवल किशोर साहको कमाण्डमा खटिएको टोलीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।




