साउन ८, हेटौंडा। वडा प्रहरी कार्यालय हेटौँडा, मकवानपुरबाट खटिएको टोलीले रौतहट कारागारबाट फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।
जेनजी आन्दोलनका क्रममा मुद्रा सम्बन्धी कसुर र संगठित अपराध मुद्दाका कैदी रौतहटको मौलापुर नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी ३४ वर्षीय शैलेन्द्र साह भनिने शैलेन्द्रकुमार साह हेटौँडा बजार क्षेत्रमा लुकीछिपी बसेको विशेष सूचनाको आधारमा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।
सोही क्रममा हिजो बिहिवार हेटौँडा उपमहानगरपालिका वडा नं. ४ कर्रा चोकस्थित सडकमा पैदल हिँडिरहेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई आवश्यक सोधपुछ गर्दा सम्पूर्ण विवरण मिलेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट खटिएको अर्को टोलीले फैसला कार्यान्वयन अन्तर्गत कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ।
मकवानपुर जिल्ला अदालतको लगत नं. ७६० अनुसार १० वर्ष कैद सजायको फैसला भएका भीमफेदी गाउँपालिका वडा नं. ८ सल्ले बस्ने अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङलाई प्रहरीले हिजो नै उनको घरबाट पक्राउ गरेको हो।
यी दुवै घटनामार्फत मकवानपुर प्रहरीले फरार सूचीमा रहेका अपराधीहरूको खोजी तथा कानुनी दायरामा ल्याउने कार्यलाई थप प्रभावकारी बनाएको जनाएको छ।



