साउन ८, काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिवको नियुक्ति तथा व्यवस्थापनसम्बन्धी एक नयाँ र विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा शुक्रबार जारी गरिएको निर्देशनमा पारदर्शिता, सुशासन र मितव्ययितालाई उच्च प्राथमिकता दिइएको छ।
संघीय संसद्का सदस्यहरूको पदीय जिम्मेवारी जस्तै— कानून निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधनलाई थप प्रभावकारी बनाउन यो निर्देशन ल्याइएको बिज्ञप्तिमा उल्लेख छ।
‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ को अनुसूची-२ मा हालै मन्त्रीपरिषद्ले गरेको हेरफेर पश्चात संघीय संसद्का सदस्यहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को १ जना स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ।
राज्यकोषबाट प्राप्त हुने यस सुविधाको उच्चतम सदुपयोग सुनिश्चित गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन रास्वपाले आफ्ना सांसदहरूका लागि यो आन्तरिक निर्देशिका लागू गरेको हो।
स्वकिय सचीव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड यस्तो छ
निर्देशनमा स्वकीय सचिव नियुक्तिका लागि निम्न चारवटा आधारभूत मापदण्डहरू निर्धारण गरिएका छन्:
- नातावाद र परिवारवादको पूर्ण निषेध: पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई स्वकीय सचिव पदमा नियुक्त गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।
- शैक्षिक योग्यता तथा क्षमता: उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह उत्तीर्ण) अनिवार्य रूपमा हासिल गरेको हुनुपर्नेछ। यसका साथै, सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिइनेछ।
- समावेशितालाई प्रोत्साहन: योग्यता र क्षमता पुगेका उम्मेदवारहरूमध्ये महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई विशेष प्राथमिकता दिइनेछ।
- स्वार्थ नबाझिएको र दोहोरो सुविधा नलिएको: नियुक्त हुने व्यक्तिले अन्यत्र कुनै पनि सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। सांसदको पदीय दायित्वमा प्रभाव पार्ने कुनै पनि स्वार्थ बाझिने अवस्था (Conflict of Interest) बाट उम्मेदवार पूर्ण रूपमा मुक्त हुनुपर्नेछ।
यस्तै स्वकीय सचिवको छनोट तथा नियुक्तिका लागि विभिन्न प्रक्रिया अपनाउनु पर्ने पनि बिज्ञप्तिमा उल्लेख छ।
स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गरिनुपर्नेछ।
सम्बन्धित सांसदले योग्य उम्मेदवार छनोट गरेपश्चात् नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्नेछ।
स्वकीय सचिव नियुक्तिका सम्बन्धमा कुनै किसिमको विवाद, उजुरी वा प्रश्न उत्पन्न भएमा सोको छानबिन गरी अन्तिम निर्णय गर्ने अधिकार पार्टीमा नै निहित रहनेछ।
स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा गर्न, असुल्न वा हिनामिना गर्न पूर्णतः निषेध गरिएको छ। यस्तो कार्यलाई गम्भीर आर्थिक अनुशासनहीनता मानिनेछ।
पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्नेछ।
नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण (बायोडाटा) र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संघीय संसद् सचिवालयका साथै पार्टीको केन्द्रीय कार्यालयमा समेत समयमै दर्ता गराउनुपर्नेछ।
सम्बन्धित सांसदले आफ्नो स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्याङ्कन गर्नुपर्नेछ। उक्त कार्यसम्पादन समीक्षाको आवधिक प्रतिवेदन सांसदले संसदीय दलसमक्ष अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
स्वकीय सचिवले सांसदको कामकारबाही, पार्टीको आन्तरिक सूचना र संसद्का संवेदनशील विषयहरूको पूर्ण गोपनीयता कायम राख्नुपर्नेछ।
राज्यकोषको सुविधा जनताको करबाट प्राप्त हुने भएकाले यसको उपयोगमा रास्वपाका सम्पूर्ण सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रदर्शन गर्नुपर्नेछ।
यदि यस मार्गदर्शनको उल्लङ्घन भएको पाइएमा (जस्तै: नातेदार नियुक्त गरेको, कागजी रूपमा मात्र सचिव खडा गरी सुविधा लिएको वा अन्य आर्थिक हिनामिना गरेको पाइएमा) पार्टीको केन्द्रीय अनुशासनमार्फत तत्काल आवश्यक कारबाही अगाडि बढाइनेछ।
स्वकीय सचिवको कार्यसम्पादन सन्तोषजनक नरहेमा, पदीय आचरणविपरीत कार्य गरेमा वा गोपनीयता भङ्ग गरेमा सम्बन्धित सांसदले संसदीय दलको जानकारीमा जुनसुकै बेला पदमुक्त गर्न सक्नेछन्।
संसदीय दलले स्वकीय सचिव मागसम्बन्धी दरखास्त आह्वानका लागि एउटा साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा तयार गर्नेछ। यस ढाँचामा आवश्यक योग्यता, कार्यविवरण र आवेदन दिने प्रक्रिया स्पष्ट रूपमा उल्लेख गरिनेछ।
सम्पूर्ण सांसदहरूले नयाँ स्वकीय सचिव नियुक्तिका लागि सार्वजनिक आह्वान गर्दा अनिवार्य रूपमा यसै साझा ढाँचाको मात्र प्रयोग गर्नुपर्नेछ।
विशेष नोट: स्वकीय सचिव व्यवस्थापन तथा नियुक्तिसम्बन्धी कुनै पनि किसिमको सहयोग वा सल्लाह आवश्यक परेमा सांसदहरूले संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतकज्यूहरूसँग सम्पर्क राख्न सक्नुहुनेछ।



