साउन ९, चन्द्रपुर।रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको दुर्व्यवहारको घटनाप्रति रास्वपा संसदीय दलले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको घोर भर्त्सना गरेको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिअनुसार अस्ति साउन ७ गते सांसद पौडेल जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा उनीमाथि कालो मसी प्रहार तथा दुर्व्यवहार गरिएको थियो।
लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य नहुने दलले स्पष्ट पारेको छ।
यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार र शान्तिपूर्ण तथा सुसंस्कृत राजनीतिक अभ्यासमाथि गम्भीर प्रहार गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
रास्वपा संसदीय दलले यस घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिहरूमाथि कानूनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिई जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
साथै, पार्टी लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास र सभ्य समाज निर्माणप्रति सदैव प्रतिबद्ध रहेको कुरा पनि पुनः स्पष्ट पारिएको छ।
सांसद पौडेललाई गढिमाई नगरपालिकामा राती ८ बजेको समयमा मधेसी मुक्ति अभियानका कार्यकर्ताहरुले नाराबाजी गर्दै पछाडीबाट कालो मसि प्रहार गरेका थिए।



