साउन ९, चन्द्रपुर। रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोलमा हिजो शुक्रबार एक महिलाको अति नै क्रूर र सनसनीपूर्ण ढंगले हत्या भएको छ।
स्थानीय ४०/४५ वर्षीया रेनु देवी जयसवालको खुकुरी प्रहार गरी घटनास्थलमै निर्मम हत्या गरिएको हो।
कसरी भयो घटना? (प्रत्यक्षदर्शीको बयान अनुसार)
बाराको करैयामाई गाउँपालिका-८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका-५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनु देवीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन्।
स्थानीय बासिन्दाका अनुसार आरोपी उपेन्द्र साह वैदेशिक रोजगारीबाट घर फर्किएको जम्मा दुई साता मात्रै भएको थियो।
विदेशबाट फर्किएपछि उनको स्थानीय नै अर्की एक महिलासँग अवैध प्रेम सम्बन्ध (लसपस) रहेको खुलेको छ। ती महिलाका श्रीमान पनि हाल वैदेशिक रोजगारीमै रहेका छन्।
मृतक रेनु देवीले ती महिलालाई, “तिम्रो श्रीमान विदेशमा हुनुहुन्छ, यसरी परपुरुषसँग समय बिताउनु हुँदैन। यसले हाम्रो गाउँ र छरछिमेकको इज्जत पनि जान्छ,” भन्दै सम्झाउने प्रयास गरेकी थिइन्।
यही विषयलाई लिएर विवाद बढेपछि आक्रोशित बनेका उपेन्द्रले रेनु देवीमाथि खुकुरी प्रहार गरेर ज्यान लिएका हुन्।
हत्यापछि भयपूर्ण अवस्था र फिल्मी शैलीको गिरफ्तारी
निर्मम हत्यापछि आरोपी उपेन्द्र घटनास्थलबाट भाग्नसमेत प्रयास गरेनन्। बरु हातमा रगतले लतपतिएको नाङ्गो खुकुरी नचाउँदै उनले त्रास फैलाएका थिए।
“मेरो वरिपरि कोही नआउनु, जो आउँछ उसलाई नै मार्छु,” भन्दै उनी घटनास्थलमै धेरैबेर उभिरहेका थिए।
घटनास्थलमा आतंक मच्चिएपछि स्थानीयवासी र नेपाल प्रहरीको बाक्लो टोलीले संयुक्त रूपमा सावधानीपूर्वक उनलाई नियन्त्रणमा लिएको थियो।
आक्रोशित भीडको आक्रमण र अस्पताल भर्ना
दिनदहाडै भएको यस जघन्य हत्याबाट आक्रोशित बनेका स्थानीय बासिन्दाले नियन्त्रणमा लिने क्रममा उपेन्द्रमाथि पनि कुटपिट गरेका थिए।
स्थानीयको आक्रमणबाट गम्भीर घाइते भएका उपेन्द्रको हाल चन्द्रपुरस्थित चन्द्रपुर अस्पतालमा कडा सुरक्षा घेराबीच उपचार भइरहेको जनाईएको छ।
प्रहरीले हत्याका मुख्य आरोपी उपेन्द्र साह कलवारसँगै उनकी भनिएकी ‘प्रेमिका’ महिलालाई पनि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
एक सामान्य सम्झाइबुझाईको विषयलाई लिएर गरिएको यो जघन्य हत्याले सिङ्गो हरिहरपुर टोललाई अहिले शोक र आतंकमा डुबाएको छ।



