साउन ९, हेटौंडा। मकवानपुर जिल्लामा भएका छुट्टाछुट्टै दुई वटा दुर्घटना तथा घटनामा परि दुई जनाको मृत्यु भएको छ।
भिरबाट लडेर र आफ्नै घरमा झुण्डिएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पहिलो घटना हिजो ८ गते अपराह्न साढे ४ बजेको समयमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ९ कुवापानी बस्ने अन्दाजी ४५ वर्षीय ईश्वर थिङको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट अन्दाजी ५०० मिटर उत्तरतर्फ रहेको कुवापानीबाट मतियार जाने भित्री सडकखण्डको नयाँ खोलेको सडकबाट करिब ६० मिटर तल भिरमा खसी रुखको जरामा उनी अड्किएको अवस्थामा फेला परेका थिए।
उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नामटारबाट प्रहरी टोली घटनास्थलमा खटिई गई हेर्दा उनको मृत्यु भइसकेको खुल्न आएको थियो।
घटनापश्चात उक्त स्थानमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण दासको कमाण्डमा विशेष टोली खटिगई आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।
त्यसैगरी, दोस्रो घटना अन्तर्गत आज साउन ९ गते बिहान साढे ७ बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ शक्तिखोला बाघझोण्डर बस्ने अन्दाजी ५०/५५ वर्षकी पार्वती रुम्बा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्।
स्थानीय जनप्रतिनिधि (वडा अध्यक्ष) मार्फत घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हटियाबाट प्रहरी नायब निरीक्षक राजेन्द्र कुमालको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिई गएको थियो।
यसैगरी, घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा अनुसन्धान टोली पनि परिचालन गरिएको छ।
उक्त घटनास्थल अस्थायी प्रहरी चौकी हटियाबाट करिब ७ किलोमिटर दक्षिण र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब १२ किलोमिटर पूर्वदक्षिण दिशामा पर्दछ।
हाल यी दुवै घटनाका सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको छ।



