साउन ११, निजगढ। बाराको कलैया उपमहानगरपालिका-१७ ब्रमहपुरीस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी एक किशोरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
आज सोमबार बिहान अन्दाजी ०८:२५ बजेको समयमा भवानीपुरबाट ब्रमहपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडक किनारको विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-३ बस्ने मोसा अजितका छोरा अन्दाजी १५ वर्षीय सोयब मंसुर र हातमा सामान्य चोट लागेका पछाडि सवार सोही ठाउँका साबिर हुसेन अन्सारीका छोरा अन्दाजी १५ वर्षीय साहिद अन्सारीलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल कलैया पठाइएको थियो।
अस्पतालमा उपचारकै क्रममा बिहान अन्दाजी ०९:०० बजे चालक सोयब मंसुरलाई डाक्टरले ईसीजी गर्दा मृत घोषणा गरेका थिए। घाइते अन्सारीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



