साउन १२,काठमाडौं।सुनसरी लगायतका पूर्वी जिल्लाहरूमा हालै घटेको संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटना र त्यसले सिर्जना गरेको तनावपूर्ण परिस्थितिबाट सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको बताउँदै रास्वपाले विज्ञप्ति मार्फत मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
कुनै पनि प्रकारका समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट पार्दै रास्वपाले नेपाली समाजको मुख्य शक्ति र सौन्दर्य बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव रहेको उल्लेख गरेको छ।
यो सद्भावलाई खलबलाउने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूलाई हार्दिक अपिल गरिएको छ।
यस्तो संवेदनशील बेलामा उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु प्रमुख आवश्यकता रहेको पार्टीको जोड छ।
परिस्थिति लाई तत्काल नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र सामान्यीकरण गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको रास्वपाले जनाएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडितहरूलाई न्याय, निःशुल्क उपचार तथा उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।
शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सदैव अडिग रहेको उल्लेख गर्दै रास्वपाले आपसी संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न सकारात्मक भूमिका निर्वाह गरिरहेको बताएको छ।
साथै, यो संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दै, पार्टीका स्थानीय समितिका सदस्यहरूलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी बन्न निर्देशन दिइएको छ।



