साउन १२, हेटौंडा। मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ।
पहिरो खस्ने क्रम निरन्तर भइरहेको र रातिको समयमा सवारी आवागमन सुचारु राख्दा मानवीय जोखिम हुन सक्ने देखिएकाले जिल्ला प्रशासन कार्यालय, चितवनले आज मिति २०८३ साल साउन १२ गते राति ०८:०० बजेदेखि भोलि साउन १३ गते बिहान ०५:०० बजेसम्मका लागि उक्त सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाएको छ।
सवारी आवागमन बन्द रहेको यस अवधिमा यात्रु महानुभावहरूलाई पर्न गएको असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमाप्रार्थी रहेको जनाएको छ।
साथै, सवारी आवागमन बन्द रहेको समयमा थप सूचना, सहयोग, समन्वय एवं सहजीकरणको लागि नेपाल प्रहरीको नम्बर १००, सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४, जिल्ला आपत्कालीन केन्द्र (DEOC) को नम्बर १२३४ तथा जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।



