साउन १४, हेटौंडा। नेपाल विद्युत् प्राधिकरणले सप्तरी जिल्लाको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी र ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ।
हिजो बुधबार साँझदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।
करिब १२ करोड रुपैयाँको लागतमा सम्पन्न यस आयोजना अन्तर्गत सबस्टेसनको निर्माणसँगै १० किलोमिटर लामो ११ केभी प्रसारण लाइनसमेत विस्तार गरिएको छ।
यो नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिका अन्तर्गत पर्ने कदमाहा, लालपट्टा र कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
नयाँ सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा लामो समयदेखि उपभोक्ताले भोग्दै आएका विभिन्न समस्याहरू समाधान हुने भएका छन्।
यसअघि देखिएको कम भोल्टेजको समस्या, बारम्बार लाइन ट्रिप हुने अवस्था तथा विद्युत् आपूर्तिमा हुने अवरोध अब उल्लेखनीय रूपमा घट्ने प्राधिकरणले जनाएको छ।
यसले समग्र भोल्टेज प्रोफाइलमा सुधार ल्याई उपभोक्तालाई थप स्थिर, सुरक्षित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनेछ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारका लागि यो सबस्टेसन सञ्चालन हुनु एक महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
उनले केवल विद्युत् उत्पादनमा मात्र वृद्धि गर्नु सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै, उत्पादन भएको विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पुर्याउनु सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै मन्त्री श्रेष्ठले नागरिकका गुनासाहरूलाई तत्काल समाधानमा रूपान्तरण गर्न सरकार सधैँ प्रतिबद्ध रहेको कुरामा जोड दिए।



