साउन १५,हेटौंडा । छिमेकी मूलूक भारतको पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लास्थित मुनसोङमा ८० औं इन्डिपेन्डेन्स डे को अवसरमा जारी फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमीले आफ्‌नो पहिलो खेलमा शान्दार जीत निकालेको छ ।

मुनसोङ र्स्पोर्टस् एशोसिएसन क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आज शुक्रबार भएको राउण्ड अफ ३२ को आफ्‌नो पहिलो खेलमा हेटौंडाको टोलीले घरेलु टोली सिक्किमको माम्रिङ व्वाइज क्लबको गोल पोष्टमा गोलको वर्षा गरेको हो।

एकेडेमीले माम्रिङ व्वाइजलाई ८–१ को भारी गोलान्तरले सहजै पराजित गरेको हो। यो जीत सँगै एकेडेमीको टोलीले आफ्‌नो प्रि र्क्वाटरफाइनलको स्थान सुरक्षित गर्दै हाइल्याण्ड वारियरको टिमसँगको भेट पक्का गरेको छ ।

निकै आक्रमक खेल प्रदर्शन गरेको एकेडेमीको टोलीको दबावलाई झेल्न नसकेपछि माम्रिङ व्वाइज भारी गोलान्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुपरेको हो ।

एकेडेमीका लागि सन्तोष गोङ्बाले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि माम्रिङ ब्वाइजको तर्फबाट एक गोल फर्काइएको थियो ।

एकेडेमीका अंकित आले मगरले ह्याट्रिक पूरा गरे। उनले ४ गोल गर्दै आफ्‌नो नाममा ह्याट्रिक राख्न सफल भए भने दिलन लिम्बुले १ गोल र पवन पाख्रिनले २ गोल गरे ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो ।

मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल भने अगष्ट १५ अर्थात भारतको स्वतन्त्रता दिवसको दिन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय