साउन १५, काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
आज शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विद्यार्थीहरूको पठनपाठनमा अवरोध नहोस् भनेर उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार बालाजुस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ र बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नजिकका माध्यमिक विद्यालयहरूमा स्थानान्तरण गरिएको छ।
त्यस्तै, कीर्तिपुरमा रहेका १० जना बालबालिकालाई प्याब्सन काठमाडौंको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा पढाउने व्यवस्था गरिएको छ भने खरिपाटी, बोडे र इचङ्गुमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइ यातायात, खाजा, पोसाक, स्टेसनरी तथा खेलकुद सामग्रीसमेत उपलब्ध गराइएको छ।
अदालत र विश्वविद्यालयसँग सम्बन्धित अन्य जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले शैक्षिक संस्थाहरूमा सुशासन र योग्यता प्रणालीलाई सुदृढ गर्न मनोनयन प्रणाली खारेज गरिएको स्पष्ट पारे।
हाल ९ वटा विश्वविद्यालयमा उपकुलपति र त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नियुक्त भइसकेका छन् भने बाँकी रिक्त पदहरूको पूर्ति प्रक्रिया पनि अघि बढाइएको छ।
साथै, उच्च शिक्षाको शैक्षिक वातावरण सुधार्न सबै विश्वविद्यालयलाई अनिवार्य रूपमा वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको छ। राष्ट्रियसभामा सांसदहरू मदनकुमारी शाह (गरिमा) र भुवनबहादुर सुनारले उठाएका जिज्ञासाको मन्त्री पोखरेलले यस्तो जवाफ दिएका हुन्।



