साउन १८, बिर्तामोड। पत्रकारिता र क्रियाशील पत्रकारहरूलाई बदनाम गराउने उद्देश्यले झापास्थित हल्दिबारी गाउँपालिका–१ का नवराज ओली (नितेश) ले सामाजिक सञ्जाल तथा सन्देशमार्फत भ्रामक सामग्री प्रसारण गर्नुका साथै पत्रकारको ज्यान लिने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न अपराधमा संलग्न भई हाल फरार रहेका भनिएका ओलीले नेपाल पत्रकार महासंघ झापा शाखा, शाखा अध्यक्ष तथा पदाधिकारीहरूबारे अनर्गल प्रचारप्रसार गर्दै मानमर्दन र चरित्रहत्या गर्नुका साथै ज्यान मार्ने धम्की दिइरहेको महासंघको कोशी प्रदेश समितिले जनाएको छ ।
यसप्रकाकारका गतिविधिहरू अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रताविरोधी रहेको महासंघको ठहर छ ।
महासंघ शाखाले गत २०८३ असार १५ गते साइबर अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय, झापामा संस्थागत रूपमा जाहेरी दर्ता गराएको थियो ।
“त्यसलगत्तै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको एक महिना बितिसक्दा पनि अभियुक्तलाई पक्राउ नगरिनुले प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर शंका उत्पन्न भएको छ ।”महासंघले एक बिज्ञप्ति जारी गर्दै भनेको छ।
निजको सामाजिक सञ्जाल निरन्तर सक्रिय रहँदासमेत पक्राउ प्रक्रियामा भइरहेको ढिलाइप्रति महासंघले आश्चर्य प्रकट गरेको छ ।
तसर्थ, महासंघले सम्बन्धित निकायसँग अभियुक्तलाई बिनाकुनै बहाना तत्काल पक्राउ गर्न, निजको सामाजिक सञ्जालमार्फत भइरहेका अवाञ्छित गतिविधिहरू रोक्न तथा समाजमा मौलाएको दण्डहीनताको तत्काल अन्त्य गर्न जोडदार माग गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।



