साउन २३, निजगढ। बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित चुरियामाई मन्दिर नजिक हेटौँडा–पथलैया सडक खण्डमा भारतीय नम्बर प्लेटको टेलरले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा पुगी पाँच वटा सवारी साधनलाई ठक्कर दिएको छ।
गएराति करिब १०:०० बजेको समयमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको HR 69 D7969 नम्बरको भारतीय टेलर ट्रक अनियन्त्रित भई पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेका अन्य सवारी साधनहरूलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराले जनाएको छ। घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। दुर्घटना गराउने भारतीय टेलरका चालक भने फरार रहेका छन् र उनको खोजी कार्य जारी छ।
दुर्घटनामा परेका सवारी साधनहरू र क्षति:
१. ना १ ज ६८८१ नम्बरको कार (ट्याक्सी): अगाडिको भागमा क्षति पुगेको। (चालक: चितवन भरतपुर महानगरपालिका वडा नं. १० बस्ने मनोज गुरुङ)
२. लु.प्र.०१-००१ च ०१२४ नम्बरको भ्यान: अगाडि र पछाडिको भागमा क्षति पुगेको। (चालक: नवलपुर नगरपालिका वडा नं. ८ बस्ने दुर्गा बहादुर पौडेल)
३. बा.१७ च ७७८३ नम्बरको ओमनि भ्यान: अगाडिको भाग कुचिएको। (चालक: चितवन भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने आशिष श्रेष्ठ)
४. ना ४ च ५३३४ नम्बरको योद्धा पिकअप: बायाँ साइडको भागमा क्षति र अगाडिको सिसा फुटेको। (चालक: मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमाने बस्ने राजु कुमार भेटवाल)
५. बा.प्र.०३-००१ ज ३६२ नम्बरको ईभी गाडी: अगाडिको भाग कुचिएको। (चालक: मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ९ बस्ने नितेश पौडेल)



