साउन २६, काठमाडौं। कानुनले सुनिश्चित गरेको सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल अघि बढाएको छ।
मन्त्री सिता बादीको विशेष निर्देशनमा मन्त्रालयले यससम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन तथा आवश्यक सहजीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक पत्र पठाएको छ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ ले सार्वजनिक सवारीमा कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्ने र यातायात भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरे तापनि अधिकांश ज्येष्ठ नागरिकले व्यवहारमा उक्त सुविधा नपाएको गुनासो बढेपछि मन्त्रालयले यो कदम चालेको हो।
कागजमा सीमित रहेको कानुनी व्यवस्थालाई व्यवहारमै कार्यान्वयन गराउँदै ज्येष्ठ नागरिकको अधिकार र सम्मान सुनिश्चित गर्न यो पहलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



