भदौ २, हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ जुरीखेतमा स्कारपियो गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगन्ज पर्साका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन्।

काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको उक्त गाडी सडकबाट ५०/६० मिटर तल खसेर दुर्घटनामा परेको हो।

आज मंगलबार बिहान अन्दाजी ७:०० बजेको समयमा भएको उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिकसहित ७ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएर उद्धार कार्य गरेको थियो।

दुर्घटनालगत्तै घाइते सबै ६ जनालाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो।

​घाइतेमध्ये रजिस्ट्रारकी श्रीमतीको अवस्था गम्भीर रहेको छ भने अन्य ५ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक उपचारपश्चात बिहान ०९:०० बजेको समयमा चालक र रजिस्ट्रारलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो भने बाँकी ४ जना घाइतेलाई बिहान ०९:१५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको छ।

​दुर्घटनामा घाइते भएका ६ जनाको विवरण:

​१. छुनिलाल चौधरी: गाडी चालक, जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं. ८ बस्ने, अन्दाजी वर्ष ३२ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।

२. गोकर्ण डाँगी: मुख्य न्यायाधीश, उच्च अदालत वीरगन्ज, जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बस्ने, अन्दाजी वर्ष ५७ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।

३. तारादत्त बडु: रजिस्ट्रार, जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा नं. ७ सुर्काल बस्ने, अन्दाजी वर्ष ५१ (शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।

४. लक्ष्मी बडु: रजिस्ट्रार तारादत्त बडुकी श्रीमती, अन्दाजी वर्ष ४९ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर)।

५. रितेन्द्र बडु: तारादत्त बडुका छोरा, अन्दाजी वर्ष २५ (टाउकोमा चोट, अवस्था मध्यम)।

६. रिता बडु: रजिस्ट्रारकी दिदी, अन्दाजी वर्ष ३१ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।

​थप अनुसन्धान र वर्तमान अवस्था

​काठमाडौंबाट वीरगन्ज जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खोल्सामा खसेको थियो।

घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोली समेत घटनास्थलमा खटी गएको थियो।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय