भदौ २, काठमाडौं। संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूका लागि नयाँ आन्तरिक व्यवस्था लागू गरेको छ।
यस व्यवस्थाअनुसार अब रास्वपाका सांसदहरू संसद बैठकमा अनुपस्थित हुनुपर्ने वा नियमित समयभन्दा तलमाथि गर्नुपर्ने निश्चित परिस्थितिहरूमा अनिवार्य रूपमा ‘संसद बैठक अनुपस्थिति आवेदन फारम’ भर्नुपर्ने भएको छ।
पार्टीले सांसदहरूलाई जारी गरेको निर्देशनअनुसार चारवटा विशेष अवस्थामा यो फारम लागू हुनेछ।
जसमध्ये सम्पूर्ण रूपमा संसद बैठकमा उपस्थित हुन नसक्ने अवस्था, बैठक सुरु भएको ३० मिनेटभन्दा ढिलो उपस्थित हुनुपर्ने अवस्था, बैठकमा उपस्थित भएर पनि बीचैमा छाड्नुपर्ने अवस्था तथा बैठक चलिरहँदा बीचमा बाहिर गएर पुन: फर्किनुपर्ने अवस्थामा उक्त फारम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
संसद् बैठकको मर्यादा कायम राख्दै यसको कामकाजलाई थप अनुशासित र प्रभावकारी बनाउनका लागि यस्तो अभ्यास थालिएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।



