भदौ ३, निजगढ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ३ वर्षीया नाबालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको जघन्य घटना बाहिर आएको छ।

जितपुरसिमरा उपमहानगरपालिका-१, भक्तीनगरस्थित एक खाली घरको कोठामा मृत अवस्थामा फेला परेकी ती बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिकका सहचालक र गाडी धनीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका-२ बस्ने भीमसेन थापाका १६ वर्षीय छोरा तथा ना.१.ज ७७५८ नम्बरको म्याजिकका सहचालक समेत रहेका सुमन थापाले ती बालिकालाई चकलेट दिएर ललाईफकाई घटनास्थलमा लगि जबरजस्ती करणी गरी हत्या गरेको खुलेको हो।

सोही आधारमा प्रहरीले मुख्य आरोपी सहचालक थापा र उक्त म्याजिकका धनी जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।

​जितपुरसिमरा उपमहानगरपालिका-१, दसधुरी बस्ने मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा गत साउन ३१ गते बिहान करिब साढे ८ बजेदेखि घरबाट हराएकी थिइन्।

भदौ २ गते हिजो साँझ करिब पौने ६ बजे वीरबहादुर रोकाको टायलले छाएको एक तले घरको खाली कोठाभित्र उनको शव भेटिएको थियो।

घटनाको खबर पाएसँगै इलाका प्रहरी कार्यालय सिमराबाट प्र.ना.उ. दिलीप क्षेत्री र जिल्ला प्रहरी कार्यालय बाराबाट प्र.उ. नरेन्द्र कुँवरको नेतृत्वमा ‘सोको’ सहितको टोली घटनास्थलमा खटिई सुरक्षा दिएको थियो।

त्यसपछि नेपाल प्रदेश प्रहरी कार्यालय पर्सा, वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको विशेष टोली झिकाएर गरिएको सूक्ष्म अनुसन्धानबाट घटनाको रहस्य खुलेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय