भदौ ७, हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटारमा निर्माण भइरहेको तराई-मधेस फास्ट ट्र्याकमा काम गर्ने क्रममा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

​शनिबार दिउँसो करिब २ बजेको समयमा भएको उक्त दुर्घटनामा परी चिनियाँ नागरिक ५१ वर्षीय गुओ फाङ्सुनको मृत्यु भएको हो।

​प्रहरीका अनुसार, फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको ‘चाइना रेलवे न. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट उनी गत वर्ष फागुन ३ गतेदेखि सुपरभाइजरको रूपमा कार्यरत थिए।

चीनको सिचुआन प्रान्त स्थायी घर भएका उनको राहदानी नम्बर EQ7I6873I रहेको छ भने जन्ममिति सन् १९७५ सेप्टेम्बर १५ उल्लेख छ।

​घटनास्थलमा काम गर्ने क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ घर भई लोडर चालकका रूपमा कार्यरत ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडर गाडीले पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाईते भएका थिए।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

​घटनालगत्तै प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा लास जाँच मुचुल्कासम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको छ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँको शवगृहमा राखिएको छ। ​घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय