भदौ १०, धुन्छे। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीको वितण्डापछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जना बाढी प्रभावितको सफल हवाई उद्धार गरिएको छ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार यस आपतकालीन उद्धार कार्यमा नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीहरूले २९ जनालाई सुरक्षित स्थानमा पुर्याएका छन्।
उद्धार कार्यको विवरण अनुसार नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चे क्षेत्रबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूली–काठमाडौँतर्फ ३ जनाको सफल उद्धार गरेको छ।
त्यसैगरी, निजी क्षेत्रका हेलिकप्टरहरूले पनि प्रभावितहरूको उद्धारमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। यस अन्तर्गत कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालसम्म ५ जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालसम्म ४ जना, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना र वीर अस्पतालमा ३ जना गरी जम्मा ८ जनाको उद्धार गरेका छन्।
यस्तै, सिम्रिक एयरले रसुवाबाट विभिन्न उडानमार्फत कुल ५ जना (३ जना र २ जनाका दरले), फिसटेल एयरले रसुवा–टिचिङ अस्पताल रुटमा ५ जना र एभरेष्ट हेलिकप्टरले रसुवा–टिचिङ अस्पताल रुटमा २ जना प्रभावितको उद्धार गरेका छन्।
बाढीका कारण कयौँ मान्छे हताहत भएको अनुमान गरिएको छ। यद्यपि प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १८ जनाको शव फेला पारिएको छ। शवहरु क्षतविक्षत अवस्थामा भेटिएका छन्।



