भदौ ११, हेटौंडा। रसुवाको भोटेकोशी नदीमा बाढी गएपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले निजी हेलिकप्टरहरूको जथाभावी उडानमा रोक लगाएको छ। अब उद्धार उडानहरू पूर्ण रूपमा सरकारी समन्वय र मापदण्डअनुसार मात्रै सञ्चालन हुने भएका छन्।
आफूखुसी उडान हुँदा उद्धार क्षेत्रमा हवाई ट्राफिक अत्यधिक बढेर गम्भीर दुर्घटनाको जोखिम उत्पन्न भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
नयाँ व्यवस्था अनुसार, ती जिल्लाहरूमा हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्था आएमा अब जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउनुपर्नेछ।
यदि उद्धारका लागि सेनाको हेलिकप्टर उडाउनुपर्ने परिस्थिति आएमा समितिले सम्बन्धित जिल्लास्थित नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ।
त्यस्तै, उद्धारका क्रममा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका आधिकारिक सम्पर्क व्यक्तिहरूसँग मात्रै समन्वय गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
निजी हेलिकप्टरहरूको व्यवस्थापन र नियमनका लागि प्राधिकरणले हेली एभरेस्टका तर्फबाट सचित अर्याल, अल्टिच्यूड एयरका तर्फबाट मिङ्मा शेर्पा र एयर डाइनाष्टीका तर्फबाट बालकृष्ण पण्डितलाई आधिकारिक सम्पर्क व्यक्ति तोकेको छ।
आपतकालीन राहत तथा उद्धारका नाममा हुन सक्ने जथाभावी उडानले निम्त्याउन सक्ने सम्भावित हवाई दुर्घटना र अन्य प्राविधिक तथा सुरक्षात्मक जटिलताहरूलाई मध्यनजर गर्दै यो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।



