मकवानपुर, १३ भदौ: मकवानपुरको मनहरी गाउँपालिकामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।गाउँपालिकाको वडा नम्बर ३ लामिटार बस्ने अन्दाजी ५० वर्षका हिरा गोतामेको करेन्ट लागेर ज्यान गएको हो।
प्रहरीका अनुसार आज बिहान साढे ९ बजेको समयमा घर नजिकैको करेसाबारीमा घाँस काट्ने क्रममा अचानक पानी तान्ने मोटरमा जडान गरिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए।
घटनालगत्तै उपचारका लागि उनलाई सिएमसी हेटौँडा अस्पताल ल्याइएकोमा बिहान १०:१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलमा खटिई प्रारम्भिक अनुसन्धान गरिसकेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



