भदौ १७, हेटौंडा। हेटौंडामा ईभी गाडीको ठक्करबाट घाइते भएका एक पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ।

हिजो मंगलबार राति करिब ९:५० बजे हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्‍याङस्थित महेन्द्र राजमार्गमा नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०३२९ नम्बरको खाली इलेक्ट्रिक भेहिकल ईभीले पैदल यात्रीलाई ठक्कर दिएको थियो।

​दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका वडा नं. ३२ बस्ने अन्दाजी ५० वर्षका बिरेन्द्र पासवान गम्भीर घाइते भएका थिए।

घटनालगत्तै अस्थायी प्रहरी चौकी थानाभर्‍याङबाट ट्राफिकसहितको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो।

टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनको उपचार चलिरहेको अवस्थामा थप उपचारका लागि आज राति १२:०५ बजे वीरगन्जस्थित वयोधा अस्पताल रिफर गरिएको थियो।

वयोधा अस्पतालमा उपचारकै क्रममा राति १:४५ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

​दुर्घटनामा संलग्न ईभी गाडी र चालक मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ३३ वर्षका बुद्धिलाल थिङलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय