भदौ १६, हेटौंडा। मकवानपुरको हेटौँडाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक २१ वर्षीय युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीमाथि कारबाही अगाडि बढाएको हो।
हिजो १६ गते बिहान करिब ९:४५ बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ पूर्वेली दमार बस्ने २१ वर्षीय रंजन भोम्जनको घरमा प्रहरीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको कोठाभित्र लुकाइछिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषधहरू फेला परेका हुन्।
बरामद भएका सामग्रीहरू:
- ट्रामाडोल: ४,८६० क्यापसुल
- नाइट्राजेपाम: ३० ट्याब्लेट
- एन्टी-कफ (Anti-cough): १,०४० ट्याब्लेट
- मोटरसाइकलहरू: बा ३१ प ७१९२ नम्बरको भेनपावर (VR) र बा ८४ प ६०७० नम्बरको अपाचे मोटरसाइकल
- हतियार: १ थान चक्कु
प्रहरीले ती लागूऔषध र प्रयोग गरिएका सवारीसाधनसहित भोम्जनलाई नियन्त्रणमा लिएको छ। साथै, बरामद गरिएको एन्टी-कफ ट्याब्लेटको विषयमा वीरगन्ज, पर्सास्थित औषधि व्यवस्था विभागको कार्यालयसँग समन्वय गरी थप कानुनी कारबाही अगाडि बढाइएको छ।
पक्राउ परेका भोम्जनलाई सम्मानित मकवानपुर जिल्ला अदालतबाट लागू औषध कसुर मुद्दामा म्याद अनुमति लिई प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ।



