असोज ११, हेटौंडा। लगातारको वर्षाका कारण मकवानपुर र आसपासका क्षेत्रमा गएको पहिरो र सडक भासिएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने अधिकांश प्रमुख मार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कान्ति राजपथ, हेटौँडा–भिमफेदी–फाखेल र सिस्नेरी सडकखण्ड तथा पृथ्वी राजमार्गमा यातायात पूर्ण ठप्प हुँदा यात्रामा निस्किएका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
मकवानपुर प्रहरीका अनुसार, हेटौँडा–भिमफेदी–सिस्नेरी सडकखण्डको ज्यालटार, जुरीखेत र धाराखोल्सामा लेदोसहितको पहिरो खस्दा बाटो दुवै तर्फ पूर्ण रूपमा बन्द भएको छ भने पहिरो हटाउन जेसीबी परिचालन गरिएको छ।
यता, फाखेल खण्डको किटनीमा सडक भासिएर एकातर्फ मात्र सञ्चालन गर्न पनि जोखिमपूर्ण बनेपछि चालकहरूलाई सिस्नेरी वा खानीखेतको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यसैगरी, कान्ति राजपथको पाँचधुरे र टाँकुरे क्षेत्रमा पनि पहिराले बाटो छेकेको छ भने पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा ढुङ्गासहितको पहिरो खसेर एकातर्फ मात्र सवारीसाधन चलिरहेका छन्।
धादिङको कृष्णभीर र ज्यामिरेमा गएको ठूलो पहिरोका कारण पृथ्वी राजमार्गमा पनि दुवैतर्फ यातायात पूर्ण रूपमा रोकिएको छ।
चितवन र धादिङ प्रशासनले अर्को सूचना नआएसम्म यस खण्डमा सवारी नचलाउन आग्रह गरेसँगै हिजोदेखि पोखरा जाने गाडीललाई चितवनतर्फ डाइभर्ट गरिएको छ।
यता, हेटौँडाको हटिया बजारदेखि चिसापानीसम्म १० वटा विद्युतका पोल ढलेका कारण धरान–चतरा सडकखण्ड पनि ठप्प भएको छ भने त्रिभुवन राजपथ भने हाललाई पूर्ण रूपमा सुचारु रहेको छ।
अर्कोतर्फ, इन्द्रसरोवर (ड्याम) मा आज बिहान ६:३० बजेसम्म पानीको सतह १५२५.१५ क्युसुके पुगेको छ। लगातारको बाढीपहिरोले जनजीवन प्रभावित पारेकाले सम्बन्धित निकायले सुरक्षा सतर्कता अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न अपिल गरेका छन्।



